१० महिनामा विपद्जन्य घटनामा ४५३ जनाले गुमाए ज्यान, सबैभन्दा बढीको मृत्यु, सर्पको टोकाइबाट

राम्रो अनलाइन     १३ फागुन २०८२, बुधबार
१० महिनामा विपद्जन्य घटनामा ४५३ जनाले गुमाए ज्यान, सबैभन्दा बढीको मृत्यु, सर्पको टोकाइबाट

काठमाडौं – पछिल्लो १० महिना १० दिनमा विपद्का घटनामा परी देशभर ४५३ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ०८२ वैशाख १ गतेदेखि फागुन १० गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

उक्त अवधिमा देशभर ६ हजार ४८४ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी ३८ जना अझै बेपत्ता छन् भने एक हजार ७४० जना घाइते भएका थिए । 

विपद्का घटनाबाट प्रभावित हुने परिवारको संख्या १२ हजार १०९ रहेको प्राधिकरणले जनाएको छ । घटनामध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका थिए । बितेको १० महिना १० दिनमा ३ हजार १०१ वटा आगलागीका घटना भएका थिए । 

प्राधिकरणका अनुसार सो अवधिमा ३१६ वटा बाढी, ५८५ वटा पहिरो, ४२७ वटा भारी वर्षा, ३५५ वटा चट्याङ, ५८४ वटा सर्पदंश, २२७ वटा वन डढेलो, २९० वटा हावाहुरी, ४६७ वटा जनावर आक्रमण, ११३ वटा लेक लाग्नु, ५ वटा हिउँ पहिरोलगायतका विपद्का घटना रेकर्ड गरिएको थियो ।

विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु सर्पदंश ९सर्पको टोकाइ०बाट भएको छ । यस वर्ष सर्पदंशका कारण ९७ जनाको मृत्यु भएको छ । 

बितेको १० महिना १० दिनमा आगलागीमा परी ९४, पहिरोमा परी ७२, जनावरको आक्रमणमा परी ५१, चट्याङ लागेर ४४, बाढीमा परी ३७, लेक लागेर ३६, हावाहुरीका कारण आठ, भारी वर्षाका कारण सात, हिउँ पहिरोमा परी ६ र वन डढेलोमा परी एकजनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । 

प्राधिकरणका अनुसार, बाढीमा परी बेपत्ता भएका २७ जना अझै भेटिएका छैनन् । यस्तै, पहिरोमा पाँच, हिउँ पहिरोमा पाँच र जनाव र आक्रमणमा परी एकजना बेपत्ता भएका छन् । 

विपद्का घटनामध्ये आगलागीमा परी ४९९, सर्पदंशका कारण ४९३, चट्याङ लागेर २६४, जनावरको आक्रमण्मा परी २१८, लेक लागेर ८२, पहिरोमा परी ८१, भारी वर्षाका कारण २०, वन डढेलोमा परी ३, हावाहुरीका कारण ४४, हिउँ पहिरोमा परी १३ जना घाइते भएका थिए । 

प्रतिक्रिया