काठमाडौँ– आइतबारबाट अन्तिम सुनुवाइको चरणमा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाले बिहिबार पनि निरन्तरता पाउने भएको छ ।
सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको थियो । बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज तेस्रो दिन फैसला सुनवाइ गर्दैछन् । मुद्दाको अन्तिम सुनुवाई आज हुने सम्भावना प्रवल छ ।
करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।