रुपन्देही–पुस २७ गते देखि सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु भैरहवामा सञ्चालन हुदैछ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा संचालन गरिदै आएको प्रधानमन्त्री कप अन्र्तगतका खेलहरु पहिलो पटक भैरहवामा सञ्चालन हुने भएको हो ।
७ प्रादेशिक टीम र ३ विभागीय टीमहरु गरी १० टीमहरुविच संचालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष राउण्ड रोबिन लिगको आधारमा संचालन गरिने छ । लिग चरणको ८ देखि १० खेलहरु भैरहवा क्रिकेट मैदानमा संचालन गर्ने गरी कार्यक्रम तय गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।
नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले भैरहवामा रहेको सिद्धार्थ रङ्गशालालाई नेपालको तेश्रो अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालाको रुपमा अगाडी बढाउने बताए । यसको सुरुवात प्रधानमन्त्री कप संगै भैसकेको उनले बताए ।
मंगलबार सिद्धार्थ रङ्गशालाको निरिक्षण गर्दै उहाले केही सामान्य काम बाँकी रहेकोले यो पुरा हुने बित्तिकै अन्र्तराष्ट्रिय एकदिवसीय प्रतियोगिताहरुको आयोजना गर्न सकिने बताए ।
उनले एक डेढ महिनामै आईसीसीका पदाधिकारीहरु पनि नेपाल आउने र त्यस क्रममा भैरहवा र पोखराका रङ्गशालालाई प्राथमिकतामा राखी उनिहरुलाई भ्रमण गराउने प्रतिवद्धता जनाए ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रधानमन्त्री कपको लागि आफुहरु हौसिएको बताए । मैदानको ब्यवस्थापन लगायतमा रुपन्देही क्रिकेट संघको सम्पूर्ण टिम नै लागेको र थप सहयोगको लागि स्थानिय सरकार र प्रदेश सरकारको खाँचो रहेको उनले औल्याए।
सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले भिआइपी प्याराफिट सहित ७ हजार दर्शक क्षमताको रहेको र यसलाई भविष्यमा ११ हजार क्षमताको पु¥याईने रुपन्देही क्रिकेट संघको योजना छ । खेलमैदानको गुरुयोजना नै बनाएर यसको डिपिआर गरेर अगाडी बढेको छ । गुरुयोजना पुरा गर्न करिब ३० करोड बजेट आवश्यक पर्ने र अहिले सम्म करिब १९ करोड लगानी भई सकेको छ ।
प्रधानमन्त्री कप तयारीको बिषयमा अवलोकन गर्न नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द मंगलबार सिद्धार्थ रङ्गशाला पुगेका थिए । उनलाई रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा संगै नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, नेपाल एम्पायर एण्ड स्कोरर् एशोसिएनको केन्द्रिय अध्यक्ष सत्यजित सरकार, रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री लगायतले स्वागत गरेका थिए ।