काठमाडौँ– सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको थियो । बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।