‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’

राम्रो अनलाइन     २४ पुस २०८०, मङ्गलबार
‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’

काठमाडौँ– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी रहेको बताएका छन् । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिए । 

‘ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ’, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उनले बताए । 

‘खगोलको बारेमा नयाँ नयाँ कुरालार्ई ज्योतिष विज्ञानमार्फत अगाडि बढाउनुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष अध्ययनलाई निश्चित कार्यविधि र मापदण्ड बनाउन जरुरी रहेको उनले उल्लेख गरे । 

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताए । उनले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी दिए । 

विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताए । परिषद्ले रजतजयन्ती समारोहमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।
 

प्रतिक्रिया