काठमाडौँ– जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका हुन् ।
न्यायपरिषदबाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।
जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।
सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषदमा समेत उजुरी परेको थियो । उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो ।
न्यायाधीश डा.परशुराम भट्टराईले राजीनामा दिएका भए पनि उनको राजीनामा कार्यान्वयनमा गएको छैन । यदि न्याय परिषद्को बैठकले न्यायाधीश डा. परशुराम भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेमा उनी पेन्सन लिनबाट समेत वञ्चित हुनेछन् । तर कारबाही पूर्व नै राजीनामा दिई राजीनामा स्वीकृत भएमा न्याय परिषद्ले थप केही गरिरहनु नपर्ने निर्णय लिएमा उनी पेन्सन प्राप्त गर्न योग्य हुनेछन् ।