काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप फुटबलको उद्घाटन खेल मेक्सिकोमा र फाइनल खेल अमेरिकामा हुने भएको छ । विश्वकप फुटबलको फाइनल खेल २०२६ को जुलाई १९ मा अमेरिकाको न्यू जर्सीस्थित मिटलाइफ स्टेडियममा हुने भएको हो ।
त्यसअघि ११ जुनमा मेक्सिकोमा प्रतियोगिताको उद्घाटन खेल हुनेछ। मेक्सिको, अमेरिका र क्यानडा गरी तीन सहआयोजकले आफ्नो घरेलु भूमिमा समूह चरणका तीन खेल खेल्नेछन्।
अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपको रुपमा २०२६ को विश्वकप रहने भएको छ, जहाँ पहिलो पटक ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा कूल १०४ खेल हुनेछन् ।
मेक्सिकोले सन् १९७० र १९८६ को विश्वकपको आयोजना गरेको थियो । अमेरिकाले सन् १९९४ को विश्वकपको आयोजना गरेको थियो । क्यानडाले पहिलो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।