नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

राम्रो अनलाइन     ०४ फागुन २०८०, शुक्रबार
नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ– एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । 
    
मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् । 

त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र  रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन । 
    
मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

 

यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी–२० एसिया कप खेल्न पाउनेछ । पहिलो सेमिफाइनमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ ।

प्रतिक्रिया