नेपाल मलेसियासँग पराजित भएसँगै एसिया कप खेल्ने सपना समाप्त

राम्रो अनलाइन     ०४ फागुन २०८०, शुक्रबार
नेपाल मलेसियासँग पराजित भएसँगै  एसिया कप खेल्ने सपना समाप्त

काठमाडौं– एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताएकी हुन् । तेस्तै मास एलिसाले १३ रन जोडदा महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।

नेपालका लागि सीता रानामगर र  कविता जोशीले समान दुई/दुई विकेट लिए भने रुविना क्षेत्री र  कविता कुँवरले समान एक/एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको  थियो । 

नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले  १४ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाइन् । सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । कविता कुवरले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् भने रुविना क्षेत्रीले १८ बलमा २ चौकासहित २० रन जोडीन्  ।

मलेसियाकी महिराह इजाती इस्मालील २ विकेट लिइन् भने विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । 

आजै भएको अर्को सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा पुगेको छ । यो जितसँगै मलेसिया र युएई एसिया कपमा छनोट भएका छन् । नेपाल भने प्रतियोगिताबाट बहिरिएको छ ।
 

प्रतिक्रिया