मातृभाषामा समाचार सेवा सुरु गर्न प्रदेश सरकारको सहयोग रहन्छ : मन्त्री गुरुङ

राम्रो अनलाइन     ०६ फागुन २०८०, आइतबार
मातृभाषामा समाचार सेवा सुरु गर्न प्रदेश सरकारको सहयोग रहन्छ : मन्त्री गुरुङ

मोरङ– कोशी प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति(रासस)लाई मातृभाषमा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

राष्ट्रिय समाचार समिति(रासस)को ६३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ अन्तरक्रिया तथा शुभकामना आदानप्रदान समारोहमा राज्यमन्त्री गुरुङले प्रदेशमा धेरै बोलिने भाषामा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकार राससलाई सहयोग उपलब्ध गराउन तयार रहेको बताइन् । 

उनले राससले समाचार प्रसारणमार्फत सरकार र जनताबीच पुलको काम गरेको उल्लेख गरिन्। साथै राससले पिछडिएका एवं गरिबी रेखामुनि रहेका नागरिकको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो । राज्यमन्त्री गुरुङले प्रदेशसभामा सदस्यले उठाएका जनताका मुद्दा राससले प्राथमिकताकासाथ सम्प्रेषण गरिरहेको बताउँदै सङ्घीयता कार्यान्वयन एवं मुलुकको विकास र समृद्धिमा राससको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । 

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई फाइदा भइरहेको बताए । उनले राससले आफ्नो सेवा विस्तार गर्दै अघि बढिरहेको भन्दै राससलाई अझ सुदृढ गर्दै लैजानुपर्ने सुझाव दिए । 

रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए ।

सो अवसरमा यस वर्षको उत्कृष्ट जिल्ला समाचारदाता मनोज दाहाललाई मन्त्री गुरुङले पुरस्कृत समेत गरिन् । पुरस्कारको राशि रु २० हजार रहेको छ । राससको शनिबार बसेको सञ्चालक समितिको बैठकले दाहाललगायतलाई उत्कृष्ट समाचारदाताका रुपमा पुरस्कृत गरेको थियो ।
 

प्रतिक्रिया