‘भलिबल अक्षयकोष’मा प्रवासीको ४६ लाख सहयोग

राम्रो अनलाइन     १६ फागुन २०८०, बुधबार
‘भलिबल अक्षयकोष’मा प्रवासीको ४६ लाख सहयोग


म्याग्दी–म्याग्दीमा स्थापना भएको ‘भलिबल अक्षयकोष’ मा प्रवासी म्याग्देलीबाट रु ४६ लाख ५१ हजार सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा जिल्ला भलिबल सङ्घको अक्षयकोषमा सो रकम जम्मा भएको हो । 

मोना बेलायतका अध्यक्ष कुमार फगामीले बेनीमा आयोजित कार्यक्रममा उक्त रकम सांसद खमबहादुर गर्बुजामार्फत सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँलाई हस्तान्तरण गरे।   

यसैगरी मोना कुवेतका प्रतिनिधि चन्द्र गोतामेले संस्थाको तर्फबाट रु ५० हजार हस्तान्तरण गरे । संस्थागत रुपमा रु पाँच लाख सहयोग गरेको मोना बेलायतले ८३ दातामार्फत थप रु ३८ लाख ६१ हजार सहयोग गरेको अध्यक्ष बानियाँले जानकारी दिए । कोषका लागि भलिबल सङ्घका पदाधिकारी र सदस्यले रु एक लाख तथा जापानमा व्यवसाय गर्ने मोना अन्तर्राष्ट्रियका अध्यक्ष दधीवल खड्काले रु एक लाख सहयोग गरेका छन्। 

‘कोषको रकम वृद्धि गरेर रु एक करोड पु¥याउने लक्ष्य छ’, अध्यक्ष बानियाँले भने । गत असारमा म्याग्दी भलिबल क्लब बेलायतको निमन्त्रणामा बेलायत पुगेका अध्यक्ष बानियाँको प्रस्तावअनुसार मोना बेलायतले अगुवाइ गरेर सहयोग जुटाएको हो । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा राखिएको कोषको ब्याजबाट म्याग्दी भलिबल कप सञ्चालन, भलिबल प्रशिक्षण तथा कार्यालय सञ्चालन गरिने उनले बताए । मोना बेलायतले यसअघि म्याग्दीमा तीन एम्बुलेन्स सहयोग गरेको थियो । 

प्रतिक्रिया