काठमाडौं– आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।
पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।
एमालेको इलाम जिल्ला कमिटीका अनुसार हालसम्म उम्मेदवार बन्नका लागि सुहाङसहित चार जनाले निवेदन दिएका छन्। सुहाङसहित बुद्धि खनाल, रवीन्द्र सुवेदी र देवी क्षेत्री दुलालले निवेदन दिएका हुन्। यी सूची आगामी ३ चैतभित्र जिल्ला कमिटीमा पेश गर्ने कार्यसूची रहेको छ।