महोत्तरी–महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिवार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त छन् ।
जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नं। ३ दोलाठीमा शनिवार राति ८ बजे जलेश्वर बर्दिबास सडक खण्डमा नम्बर नखुलेको चार पाङ्ग्रे गाडीको ठक्करबाट मोटरसाइकल चालक रामगोपालपुर ८ बिर्ता बस्ने अमित कुमार मण्डलको मृत्यु भएको हो । त्यसै गरी मोटरसाइकलमै सवार सोही ठाउँका अजय मण्डल सिकिस्त घाइते छन् । उनलाई थप उपचारको लागि जनकपुर पठाइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीप कुमार गिरीले नम्बर नखुलेको चार पाङ्ग्रे गाडीले प्र २–०२–००३प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जानकारी दिए।
दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुराइएकोमा प्रहरीले अमितलाई मृत घोषित गरेका थिए । जिल्ला प्रहरी कार्यालयले ठक्कर दिएर फरार रहेका चार पाङ्ग्रे गाडीको खोजतलास सुरु गरिएको जनाएको छ ।