गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले एउटा पुल बगायो 

राम्रो अनलाइन     ०९ वैशाख २०८१, आइतबार
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले एउटा पुल बगायो 


काठमाडौं–गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । ‘बाढीले एउटा कच्ची पुल बगाएको छ । हाम्रो प्रहरी टोलीका अनुसार बाढीले थप क्षति पुर्‍याउने सम्भावना छैन’, उनले भने । २०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा सामागाउँ-साम्दो जोड्ने पुल बगेको थियो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।

गृह मन्त्रालयले भने वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा ठूलो बाढी आएको जनाएको छ ।

चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको बताइन् ।

‘ताल नै फुटेको नभई तालमा हिमपहिरो आएकाले पानी बाहिर पोखिएको र बाढी आएको भनेका छन्, बाँकी कुरा बुझ्दैछौं’, उनले भनिन्, ‘अहिले तल बूढीगण्डकीमा धमिलो पानी र बाढी आएको छ । अरु अवस्था के छ, बुझ्न खोजिरहेका छौं ।’

वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दुरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

प्रतिक्रिया