काठमाडौँ–सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ वाहिनी मुख्यालय, बलम्बुले आज काठमाडौँको टौदहमा विपद् अभ्यास ‘मनसुन–२’ सम्पन्न गरेको छ । यसअघि चन्द्रागिरि केबुलकारमा सफलरुपमा विपद् अभ्यास ‘मनसुन १’ सम्पन्न गरेको उक्त वाहिनीले आज टौदहमा मनसुन २ अभ्यास गरेको हो ।
मनसुनका समयमा हुने बाढी, पहिरो र मुख्यगरी डुबानका समयमा गरिने उद्धारका विषयमा आज टौदहमा अभ्यास गरिएको वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए।
उनका अनुसार मनसुनको सुरुआतसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनामा प्रतिकार्य गर्न पूर्वतयारीका कार्यक्रमस्वरुप आज अभ्यास गरिएको हो ।
यो उपलब्ध खोज तथा उद्धारका सामग्रीहरुको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुसँग समन्वय गरी वाहिनीस्तरीय विपद् प्रतिकार्य अभ्यास भएको पनि उनले बताए।
उक्त अभ्यासपछि आयोजित समारोहमा सशस्त्र प्रहरीको कार्य विभागका विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले यस्ता अभ्यासले उद्धारमा प्रभावकारी काम गर्न सक्ने भएकाले नियमित आयोजना गर्नुपर्ने र सशस्त्र प्रहरीले त्यो काम जारी राखेको बताए।
वाहिनीका अनुसार उक्त अभ्यासको मुख्य उद्देश्य सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन फौजको क्षमता अभिवृद्धि र सामग्रीहरुको अद्यावधिक गर्न, सरोकारवाला निकायहरुबीच समन्वय कायम गर्न, ज्ञान आदानप्रदान गर्न र विपद्को समयमा यसले पुर्याउन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा तत्काल टोली परिचालन गर्नु रहेको बताइएको छ ।
आजको अभ्यासमा (याफ्टिङ, मोटरबोट, डोरीबाट हुने उद्धार अभ्यास गरिएको थियो । पानीमा डुबेकाको उद्धार, पानी मुनि रहेको शवको खोजी, अड्किएको स्थान र जोखिमपूर्ण स्थानमा अड्किएका मानिसको उद्धार गर्ने अभ्भास गरिएको थियो ।
गोताखोर तालिम गरेका दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितहरुको उद्धार गर्ने कला समेत प्रदर्शन गरेका थिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले विपद् प्रतिकार्यमा सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुबीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्राय रहेको बताए। उनले गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका इकाइहरुमार्फत जम्मा तीन सय ६१ एकल एवं संयुक्त अभ्यास गरेको बताए । सो क्रममा गृह मन्त्रायलका उपसचिव रमा आचार्यले विपद्पूर्व अभ्यास अत्यन्त जरुरी रहेको र यसले क्षति न्यूनिकरण गर्न सहयोग गर्ने बताए।