काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान 

राम्रो अनलाइन     १७ जेठ २०८१, बिहिबार
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान 

 

काठमाडौं–  केही दिनयता बढिरहेको तापक्रमले काठमाडौंलाई पनि थप ताउनसक्ने प्रक्षेपण गरिएको छ। दिनदिनैजसो देशभरि बढिरहेको तापक्रमका कारण कैयौँ स्थानका ‘तातो’ रेकर्डहरू तोडिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस वा त्योभन्दा माथि हुनसक्ने अनुमान गरिएको छ।

हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

विभागकाअनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा  मौसम सफा रहने छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले  सतर्कता अपनाउन अनुरोध गरेको छ।

काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ। गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३.३ डिग्री सेल्सियस पुगेको थियो।

आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

जनरल फिजिसियन डा.नारायण बस्नेतका अनुसार ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनु अत्यधिक गर्मी हो। अत्यधिक गर्मीका कारण ज्वरो आउने, बान्ता हुने, रिङ्गटा लाग्ने, हिट स्ट्रोक हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन्।

गर्मीको प्रभाव बालबालिका र मुटु, किड्नी तथा श्वासप्रश्वाससम्बन्धी रोग भएका जेष्ठ नागरिकहरुमा बढी हुने गर्छ।

गर्मीबाट जोगिन चोसो ठाउँमा बस्ने, झोलिलो पदार्थ पिउने, चिल्लो बढी भएको खाना नखाने, सकेसम्म घरबाहिर गएर गर्नु पर्ने काम कम गर्ने, खेत–बारीमालगायत खुल्ला क्षेत्रमा काम गर्नु परेमा छाते(टोपीलगाउने, पातलो कपडा लगाउने, छाता ओड्ने गर्नुपर्छ।

प्रतिक्रिया