काठमाडौँ–सार्वजनिक प्रशासनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि र घटनाक्रमहरुका साथै प्रशासन, व्यवस्थापन, विकास र सुशासनसँग सम्बन्धित विभिन्न विषय क्षेत्रलाई समेटेर अध्ययन सामग्री उत्पादन गर्ने नेपालको अग्रणी संस्था सोपानद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो।
सोपान मासिकले २०८१ जेठ १९ मा काठमाडौमा आयोजित एक कार्यक्रममा २०८० सालमा लोकसेवा आयोगद्धारा लिइएको सहसचिव पदमा सफलता प्राप्त गर्नुभएका सहसचिवहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। सोपानले विगतमा नेपालको प्रशासनका क्षेत्रमा तथा परीक्षार्थीलाई सफलता प्रदान गर्न खेलेको भूमिकाको समेत चर्चा गरिएको थियो।
उक्त कार्यक्रममा नेपालको सार्वजनिक प्रशासनका अग्रज व्यक्तित्व लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, लोकसेवा आयोगका पूर्व सदस्य प्रा.डा. भिमदेव भट्ट, पूर्व मुख्यसचिव लीलामणि पौड्याल, पूर्व सचिव खेमराज नेपाल, शारदाप्रसदा त्रिताल, मदनकुमार भट्टराई, डा. राजन खनाल, अर्जुनमणि आ.दी. उच्च अदालत पाटनका माननीय न्यायाधीश श्यामकुमार भट्टराई, लगायतका व्यक्तित्वले सिफारिस हुनु भएका सहसचिवलाई बधाईका साथै देशमा सुशासन कायम गर्न र प्रभावकारी सेवाप्रवाह गर्न भूमिका खेल्न विशेष जोड दिएका थिए।
सहसचिव राजन पौडेलले आफ्नो निजामती सेवाको सुरुवातदेखि सहसचिव हुँदासम्ममा सोपान मासिक पत्रिकाले महत्वपूर्ण योगदान दिएको कुरा सगर्व उल्लेख गरेका थिए । उनले सोपानलाई सार्वजनिक प्रशासन क्षेत्रको सम्पूर्ण गतिविधि समेटेर मासिक रुपमा समसामयिक विषयवस्तु , प्रश्नोत्तर, लेख विचार, तथ्यांक, नवीन अवधारणा, सामान्य ज्ञान लगायत विषयलाई समेटेर एक प्रशासनिक ज्ञानको भण्डारको रुपमा आफुले पाएको कुरा प्रकाश पारे ।
सोपानले प्रशासनिक क्षेत्रमा अभिरुची राखेर अनुसन्धानात्मक तथा तथ्यपरक पुस्तक तथा लेख रचना लेख्नुहुने थुप्रै लेखकहरुलाई लक्षित पाठकसम्म पुग्ने माध्यम प्रदान गरेको छ । सोपान मासिकले सार्वजनिक प्रशासनमा प्रवेश गर्ने आकांक्षी प्रतिस्पर्धीहरु तथा सार्वजनिक सेवामा प्रवेश गरिसकेका व्यक्तिहरुको वृत्ति विकासमा सघाउ पुर्याउन गुणस्तरीय पाठ्य सामग्रीको माध्यमबाट सहयोग गरिआएको कुरालाई उपस्थित नवनियुक्त सहसचिवहरुले औल्याए ।
विगतदेखि नै सोपान मासिकले लोक सेवा आयोगबाट लिइएको विभिन्न पदका प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका महानुभावहरुसँग शुभकामना आदान प्रदान गर्दै आएको छ । यस प्रकारका कार्यक्रमबाट सार्वजनिक सेवाभित्रकै फरक फरक सेवा समूहका सफल प्रतिस्पर्धीहरुको समूह सञ्जाल निर्माण भएको र कतिपय सफल प्रतिस्पर्धीहरुले आ–आफ्नो विज्ञताका क्षेत्रमा तयार गर्नुभएका अध्ययन सामग्रीलाई पुस्तककै रुपमा तयार गर्न समेत सहयोग पुगेको कुरा सोपानका प्रकाशक वासुदेव ढकाले जानकारी दिनु भएको थियो।
आगामी दिनहरुमा सोपान र यसका प्रकाशनलाई अझ सशक्त रुपमा अगाडी बढाउने योजनामा यसको व्यवस्थापन समूह लागि परेको जानकारी दिंदै बौद्धिक सिर्जनाहरुलाई उपयुक्त स्थान दिई सहकार्य गर्दै जाने प्रतिबद्धता कार्यक्रमको संचालक तथा सोपानका प्रवन्ध निर्देशक राजेन्द्र ढकालले बताए ।