काठमाडौँ– उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको बताएका छन्। आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको उनको भनाइ छ । उनले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताए। उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदलाई सचेत गराए । उनले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्युहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ ।’ नीति निर्माणमा सांसदहरू जिम्मेवार हुनुपर्ने उनले बताए । उपसभामुख रानाले फरक प्रसङ्गमा महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दुःख व्यक्त गरे ।