काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेका छन् ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिला विरुद्धको विभेद् उन्मूलन कमिटी (सिड) को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई आज मन्त्रालयमा आयोजित बधाई कार्यक्रममा मन्त्री चौधरीले भने , ‘महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन् । तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी छ । त्यसका निम्ति हामी सबैको एकीकृत प्रयत्न हुन जरुरी छ ।’
‘तपाईँले अन्तर्राष्ट्रिय रूपमा नेपालको तर्फबाट राम्रो काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासहरूले नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।’ ,मन्त्री चौधरीले भने ।
उनले अझै पनि महिलालाई हेप्ने, कमजोर ठान्ने मानसिकता रहेको भन्दै ती सबै गलत कार्यको अन्त्यका निम्ति अझै काम गर्न आवश्यक रहेको बताइन् । नीति निर्माण गर्ने तहबाटै अहिले पनि समस्या रहेको उनको भनाइ थियो ।
उनले महिला अधिकार तथा संरक्षणका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउनका निम्ति भूमिका खेल्न आग्रह गरिन् । मन्त्री चौधरीले भनिन् ‘हामी महिलाका क्षेत्रमा थुप्रै उपलब्धिहरू हासिल गरेका छौँ । तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी नै छन् । खासगरी संविधान, ऐन, कानूनले गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न बाँकी छ । महिलाका क्षेत्रमा समस्याहरू धेरै छन् । त्यसलाई समाधान गर्नका निम्ति हामीले काम गर्न आवश्यक छ ।’
मन्त्री चौधरीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्नतिर लाग्न समेत सिड कमिटीको सदस्य राणालाई आग्रह गरिन्।
सो अवसरमा सिड कमिटीको सदस्य राणाले लैङ्गिक समानताको सबैभन्दा ठुलो अड्चन विद्यमान गलत मानसिकता रहेको बताइन् ।
उनले अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताइन्। नेपालको तर्फबाट आफू सिड कमिटी सदस्यमा तेस्रो कार्यकालका निम्ति निर्वाचित भएको भन्दै उनले यसपटक आफूले अध्यक्षका निम्ति तयारी गरेको समेत स्पष्ट पारिन् ।
कार्यक्रममा मन्त्रालयका सचिव दिनेश भट्टराईले मन्त्रालय अन्तर्गतका विभाग र महिला विकास कार्यालयहरू खारेज हुँदा मन्त्रालयका कार्यक्रम सम्पादन गर्न प्रदेश तथा स्थानीय तहमा निर्भर हुनुपर्दा थुप्रै कठिनाइ झेल्दै आइरहेको बताइन्।
कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गरेकी थिइन् । सिड कमिटीमा निर्वाचित राणा यसअघि दुई कार्यकाल सदस्य निर्वाचित भइसकेका छन् । अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै तेस्रो पटक विजयी भएका हुन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ ।