स्याङ्जा – मनसुन सुरु भएसँगै स्याङ्जामा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना बाढी पहिरोले घाइते भएका छन् । तीन घर पूर्ण रूपमा क्षति भएको छ भने ११२ घर पहिरोको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
त्यस्तै ११ गोठ पूर्ण रूपमा क्षति हुँदा ३७ पशुचौपाय मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १२ चौपाया घाइते भएका छन् भने २७ गोठ पहिरोको जोखिममा रहेका छन् ।
११ पालिका रहेको जिल्लामा पुतली बजारमा दुई जनाले ज्यान गुमाएका थिए भने ६/६ घर र गोठ जोखिममा रहेका छन् भने दुई घरमा सामान्य क्षति पुगेको छ । त्यस्तै बिरुवा गाउँपालिकामा तीन जाले ज्यान गुमाएका छन् भने पाँच जना मानिस घाइते भएका छन् । दुई घर पूर्ण रूपमा क्षति भएको थियो भने एक घर जोखिममा रहेको छ ।
त्यस्तै गल्याङमा २४ घर र एक गोठ जोखिम रहेको छ भने ३ चौपाया मरेका छन् । त्यस्तै वालिङमा विपदबाट एक जना घाइते हुनुका साथै सात घर र छ गोठ जोखिम रहेको प्रहरीले जनाएको छ । वालिङमा चार चौपाया मरेका छन् भने तीन चौपाया घाइते भएका छन् । त्यस्तै भीर कोटमा एक जनाले ज्यान गुमाएका थिए भने एक घर पूर्ण क्षति हुँदा ३२ घर र ६ गोठ जोखिम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भिर कोटमा एक गोठ पूर्ण क्षति भएको थियो भने २० चौपाया मर्नुका साथै एक घाइते भएको प्रहरीले जनाएको छ । यस्तै आँधी खोला गाउँपालिकामा एक जना मानिसले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका छन् ।
आँधी खोलामा दुई गोठ पूर्ण रूपमा क्षति हुँदा दुई चौपाया मरेका थिए भने एउटा चौपाया घाइते भएका छन् । त्यस्तै १९ घरमा सामान्य क्षति भएको छ भने एक गोठ जोखिम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै फेँदिखोलामा दुई मानिसले ज्यान गुमाएका थिए भने एक घर जोखिम रहेको छ । काली गण्डकीमा ६ घर र दुई गोठ जोखिम रहेको छ । त्यस्तै हरिनासमा दुई गोठमा क्षति हुँदा ३ चौपाया मरेका छन् भने दुई घर जोखिम रहेका छन् ।
त्यस्तै अर्जुनचौपारीमा एक गोठमा पूर्ण रूपमा क्षति हुँदा पाँच चौपाया मरेका छन् भने ७ चौपाया घाइते भएका छन् । त्यस्तै ३३ घर र छ गोठ पहिरोको जोखिममा रहेका छन् । समाज भवन, स्वास्थ्य केन्द्र भवन र सवारी साधन गरी ११ वटामा क्षति भएको प्रहरीले जनाएको छ ।