विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

राम्रो अनलाइन     ०९ साउन २०८१, बुधबार
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम रिपोर्ट आउन तीन दिन लाग्ने

 

काठमाडौं–  सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ ।

मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्ने अस्पतालका एक अधिकारीले जानकारी दिए । ‘फिंगर प्रिन्ट टोली, डीएनए टोलीलाई सबैलाई खबर गरेका छौं । सबै टोली आएपछि र एयरलाइन्सको प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्छौं’ उनले भने, ‘यो सबै तयारी गर्दा २ घण्टा लाग्छ ।’

सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए । बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया