पोखरा – बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्याइएको हो ।
बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना अझै बेपत्ता छन् र ९ जना घइते छन् । गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको समयमै अस्पताल पुर्याउन नसक्दा साँझ मृत्यु भएको थियो ।
सेनाको हेलिकप्टर मंगलबारै पुगेको भए पनि प्रतिकुल मौसमका कारण घाइतेलाई बडीगाड पुगेर काठमाडौं लैजाने अवस्था नबनेपछि बागलुङ सदरमुकामकै राखिएको थियो ।