इस्माइल हानिया मारिएपछि हमास प्रमुखमा याह्या सिन्वार नियुक्त

राम्रो अनलाइन     २३ साउन २०८१, बुधबार
इस्माइल हानिया मारिएपछि हमास प्रमुखमा याह्या सिन्वार नियुक्त

 

काठमाडौं – इस्माइल हानियाको मृत्यु भएपछि हमास प्रमुखमा याह्या सिन्वार नियुक्त भएका छन्। गत साता इरानको राजधानी तेहरानमा इजरायली आक्रमणमा मारिएका हानियाको उत्तराधिकारीका लागि गाजाका नेता याह्या सिनवारलाई हमास प्रमुखमा नियुक्त गरिएको हो।

हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न दुई दिन कतारको राजधानी दोहामा बसेको बैठकले सिन्वारलाई सर्वसम्मतिमा हमास समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो।

सिन्वार सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका थिए। सन् १९६२ मा जन्मेका उनी यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। इजरेली सेनाको कारबाहीमा परेर हमासका सैन्य विभाग प्रमुख मोहम्मद डेफको पनि मृत्यु भएको थियो।

हानियाको हत्यापछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र उसका सहयोगीहरूले इजरेललाई हनियाको मृत्युको दोष लगाउँदै प्रतिशोध लिने चेतावनी दिएको छ। सोहीबीच हमासले आफ्नो नयाँ नेता नियुक्त गरेको हो। इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया