निजामति सेवासम्बन्धी संशोधन विधेयक सर्वसम्मतले पारित

राम्रो अनलाइन     ०४ भदौ २०८१, मङ्गलबार
निजामति सेवासम्बन्धी संशोधन विधेयक सर्वसम्मतले पारित

 

धनगढी– प्रदेश सभा सदस्यको विरोधका बाबजुद सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ ।  मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो ।

विधेयकमा थारुररानाथारु समुदायको जनसङ्ख्याको अनुपातमा १७.८२ प्रतिशत समावेशी कोटा निर्धारण नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीका उपस्थित सबै प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका गीता चौधरीले विरोध जनाएका छन् । तर उनीहरुको विरोधका बाबजुद सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतले विधेयक पारित भएको घोषणा गरे । 

थारु/ रानाथारु समुदायको समावेशी कोटा जनसङ्ख्याको अनुपातमा निर्धारण हुनुपर्ने मागसहित सडक र सदनमा विरोध भएको थियो । दुवै समुदायका व्यक्तिले प्रदेश सभाको मूल गेटमै धर्ना दिएर विरोध जनाएका थिए । धर्नामा उपस्थित भएर मुख्यमन्त्री कमलबहादुर शाहले संविधानमा व्यवस्था भए बमोजिम थारु/रानाथारु समुदायको जायज मागलाई सम्बोधन गर्ने आवश्वसन दिएका छन्। उनले सदनबाट विधेयक पास भइसकेपछि दुवै समुदायको सल्लाहमै समिति गठन गरेर संशोधन प्रक्रियामार्फत सबै कुराको टुङ्गो लगाइने उल्लेख गरे ।

प्रतिक्रिया