रौतहटमा गर्मीले बेहोस हुन थाले विद्यार्थी, बिहानमा कक्षा सञ्चालन

राम्रो अनलाइन     ०८ असोज २०८१, मङ्गलबार
रौतहटमा गर्मीले बेहोस हुन थाले विद्यार्थी, बिहानमा कक्षा सञ्चालन

 

काठमाडाैं – पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौँ विद्यालयको कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुन थालेका छन्।गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ।

अत्याधिक गर्मी बढेका कारण सोमबार स्थानीय राजदेवी नगरपालिकामा श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए। जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका एकजना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो।

विद्यालयमा गर्मीबाट विद्यार्थीहरुलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६:३० बजे गरिएको सिंहले बताएका छन्। गर्मीकै विद्यार्थीमा समस्या देखिन थालेपछि चन्द्रपुर नगरपालिकाले आजदेखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।

त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिलकुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६:३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन्।

त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६:३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गुठीका प्रधानाध्यापक पवन पन्डितले बताएका छन्। १८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ।

प्रतिक्रिया