धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

राम्रो अनलाइन     २२ असोज २०८१, मङ्गलबार
धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

 

म्याग्दी – म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिए । 

पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेको उनले उल्लेख गरे ।'पाँच जनाको मृत्यु भएको यकिन भएको छ, एक जनालाई क्याम्प एकबाट उद्धार गरेका छौं,' शेर्पाले भने । 

अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको हो । हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरी काठमाडौं लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिए । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झरेकाे थियो ।

यो पर्वतारोहीको टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो । अब मृतकका परिवारका सदस्य र रसियाली दूतावासलाई खबर गरी शवहरु ल्याउने व्यवस्था गरिने आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक शेर्पाले जानकारी दिए । 

प्रतिक्रिया