स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिका टुक्रे योजनामा कटौती गरेको छ । थोरै रकम छुट्याएर स–साना योजनाहरुमा बजेट खर्च गर्दा विकासका काम नदेखिने भएकाले भीरकोट नगरपालिकाले टुक्रे योजनालाई कटौती गरेको जनाएको छ ।
स–साना योजनाहरुमा थोरै रकम खर्चेर गरिएका कामबाट उपलव्धी नदेखिने र खर्च मात्रै बढ्ने भएकाले टुक्रे योजना कटौतीमा लागिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए। पालिकाले नगर स्तरीय बजेटलाई टुक्रे योजनामा खर्च गर्न नपाइनेगरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको कर्माचार्यले बताए । पालिकाले गौरवका योजना छनौट गरी दिगो विकासका लागि काम गर्न लागेको उनले बताए।
आफूहरु निर्वाचित भएर आएको साढे दुई वर्ष भईसकेको भन्दै प्रमुख कर्माचार्यले अव देखिने गरी काममा बजेट लगानी गर्न सक्रिय रहेको बताए। उनले भने, ‘देखिने काम गर्नुपर्छ भन्ने हिसाबले नगरले वडाको सिलिङ बाहेक हरेक वडालाई थप बजेट छुट्याएका छौं । भूगोल र आवस्यकताका आधारमा बीसदेखि तीस लाखसम्म छुट्याइएको छ र यसलाई देखिनेगरी काम गर्न चाहन्छौं ।’ भीरकोटले सडकलाई पहिलो प्राथमिकता दिएको भन्दै कर्माचार्यले छुट्याईएको बजेट सके सम्म एक योजनामा खर्च गर्न निर्देशन दिईएको बताए । दुई भन्दा बढि योजनामा बजेट राख्दै नराख्न उनको जोड छ ।
‘टुक्रे योजनाुलाई प्राथमिकता नदिऔं, देखिने केही काम गरौं भन्नेमा सबै जनप्रतिनिधि सहमत रहेको नगरपालिकाले जनाएको छ । भीरकोटमा चालु आर्थिक वर्षमा नगर स्तरीय योजना ५२ वटा रहेका छन् भने ८ करोड ८८ लाख ५० हजारको बजेट रहेको छ । अघिल्लो बर्ष नगर स्तरीय योजना मात्रै ८० वटा रहेको नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले बताए।