सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद

राम्रो अनलाइन     ०७ पुस २०८१, आइतबार
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद

 

काठमाडौँ– पर्साको  वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट शनिबार  सशस्त्र प्रहरी बलले डेढ लाख भन्दाबढी  क्याप्सुल लागूऔषध बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले संचालन गरेको सृष्टी किराना जेनरल स्टोरमा  शनिवार राती खानतलासी गरेको थियो । 

सो क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध  बरामद भएको हो । स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

 नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

प्रतिक्रिया