सधैंभरिको मेरो भित्रको ऊर्जा र सपना केहि विशेष गर्न, देशको लागि केही योगदान गर्न अभिप्रेरित रह्यो। म सानैदेखि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने ठूलो चाहना बोकेर अगाडि बढेँ। सन् २०२३ मा जब मैले एक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिँदै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएँ, त्यो क्षण मेरो जीवनकै एक अविस्मरणीय मोड बन्यो।

जब मेरो नामभन्दा अगाडि नेपाल भनेर उच्चारण गरियो, त्यो गौरव, त्यो उत्साह र त्यो भावनात्मक उर्जा—शब्दहरूमा वर्णन गर्न सकिँदैन।

त्यही क्षणले मलाई गहिरोसँग यो बोध गरायो कि, म जीवनमा यही गर्न चाहन्छु—आफ्नो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत गर्न र इतिहास रच्न।
नेपालको पहिलो उपाधि घर ल्याउने सपना अब मेरो लक्ष्य मात्र होइन, मेरो दृढ संकल्प बनेको छ। र, यही सपना, यही अठोट र यही निस्वार्थ देशप्रेमले मलाई मिस नेपालको यात्रातर्फ डोर्याएको हो। इच्छा, समर्पण र मेहेनतले सपना पुरा हुने कुरामा विश्वास गर्छु ।