काठमाडाैं– जेन–जी आन्दोलनमा वितण्डा मच्चाएको आरोपमा पक्राउ परेका एक व्यक्ति सेनाको बर्खास्तीमा परेको खुलेको छ।
आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न्न भएको आरोपमा प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका-१ घर भएका २७ वर्षीय भुवन शाहीलाई पक्राउ गरेको थियो।
काठमाडौंको धापासी कृष्ण मन्दिर बस्दै आएका शाहीलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले सोमबार मिनभवन क्षेत्रबाट पक्राउ गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीका अनुसार उनी नेपाली सेनाले सात वर्षअघि नै कारबाही गरेको खुलेको छ।
प्रहरीका अनुसार शाही २०७४ सालमा सेनामा प्रवेश गरेका थिए। तर चालकको रुपमा नक्कली लाइसेन्स पेस गरेको खुलेपछि २०७५ सालमै बर्खास्तीमा परेका थिए।
आन्दोलनका क्रममा उनी प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको, मध्य बानेश्वस्थित ग्लोबल कलेजमा लुटपाट गरेको भिडियोमा देखिएका छन्।
उनले प्रहरीको एउटा मोटरसाइकल, रायट कन्ट्रोल गियर, ग्लोबल कलेजको २ थान ट्रफी, गाडीको ड्यासबोर्डमा राख्ने गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा चोरेको फुटेजमा देखिएको प्रहरीले बताएको छ।