चितवन–भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका छन् ।
आयोगद्वारा आज आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, घटनाका पीडित र सरकारी कार्यालय प्रमुखहरूले सो सुझाव दिएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगको निष्पक्षताको विषयमा कुनै शङ्का नगर्न आग्रह गरे। एक जनाले चाहेर केही नहुने भएकाले आयोग र पदाधिकारीले पूर्वाग्रही ढङ्गले काम नगर्ने प्रतिबद्धता जनाए। उनले भने, “आयोग स्पष्ट छ, हामी कुनै पनि आग्रह र पूर्वाग्रह लिएर छानबिन गर्दैनौँ ।”
निजी क्षेत्रको लगानी सुरक्षित कसरी गर्ने भन्ने विषयमासमेत आयोगले ध्यान दिने बताउँदै उनले यो घटना कसरी भयो र अब फेरि दोहोरिन नदिन के गर्ने भन्ने विषयमासमेत प्रतिवेदन तयार पार्ने बताए।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको विवरण सुनाउनु भएको थियो । जिल्लामा ६३ वटा सरकारी कार्यालय, ६ वटा स्थानीय तहका भवन, ७१ वटा वडा कार्यालय, ४१ निजी आवासमा क्षति पुगेको प्रजिअ अर्यालले जानकारी दिए।
त्यसैगरी ३७ वटा चारपाङ्ग्रे सवारी, ८३ वटा दुई पाङ्ग्रे सवारी, रेडक्रसका दुईवटा एम्बुलेन्स जलाइएको छ । एक थान हतियार लुटिएकोमा प्रशासनले फिर्ता ल्याएको उनले बताए। अर्यालका अनुसार आन्दोलनका क्रममा लुटपाटमा संलग्न दुई जनाको आगोमा निसासिएर मृत्यु भएको छ । कारागारबाट भागेका ७४२ कैदी बन्दीमध्ये ६०५ जनालाई फिर्ता ल्याइ सकिएको उनले बताए। उनले आन्दोलनका नाममा भएको अपराधमा संलग्न ३२ जनालाई कारबाही गरिसकेको र अन्य केही नियन्त्रणमा रहेको जानकारी दिए।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आयोगले निष्पक्ष ढङ्गले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताइन्। उनले भनिन्, “अराजक भीड र आन्दोलनकारी छुट्याएर कारबाही गरिनुपर्छ ।”