काठमाडाैं– मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरका मेयर बालेन साहको घरमा डोजर चलाउन भन्दै सुकुम्वासीहरूमाझ भड्काउ भाषण दिएका छन्।
आइतबार बिहान मनोहराको सुकुम्वासी बस्तीमा पुगेका उनले त्यहाँ कोणसभा गर्दै मेयर बालेन र नगरप्रहरी प्रमुख राजु पाण्डेविरुद्ध लड्न आफूले साथ दिने घोषणा पनि गरे।
बालेनमाथि विभिन्न आरोपहरू थोपर्दै उनले बालेनको घरमै पुगेर उनका परिवारलाई बाहिर निकाल्न सुकुम्वासीलाई उक्साएका थिए।
‘घर भत्काउन, जलाउन र मान्छे निकाल्न उनिहरूले नै सिकाएका हुन्। उनीहरू डोजर लिएर तपाईंको घर भत्काउन आए भने तपाईंहरू पनि उनीहरूका घरमा जानुस्। उनीहरू श्रीमतिलाई बाहिर निकाल्नुस्। उनिहरूको मात्रै बच्चा हुने तपाईंहरूको बच्चा बच्चा नहुने? उनीहरूका बच्चाबच्ची पनि निकाल्नुस्’ उनले भने यो जमिन बालेनको बाउको पनि राजु पाण्डेको बाउको पनि होइन’ प्रसाईंले भने ‘जसलाई तपाईंहरूलाई लछारपछार गर्छ उनीहरूका स्वास्नीलाई पनि लछारपछार गर्नस्।’
केही दिनअघि काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका सार्वजनिक जमिनमा संरचनाहरू हटाउन अल्टिमेटम दिएका थिए। त्यो म्याद आज सकिएको छ।