काठमाडौं– स्काउटको जमिनमा बनेका निजी संरचनाहरूमा काठमाडौं महानगरले डोजर चलाएको छ। बिहीबार बिहानै महानगर प्रहरीले डोजर लगाएर ती संरचनाहरू भत्काएको हो।
उक्त जमिनमा नेपाली काँग्रेसका नेता एंव पूर्व उर्जामन्त्री दीपक खड्का कम्पनीहरूले विभिन्न संरचनाहरू बनाएका थिए। लैनचौरस्थित स्काउटको करिब ३ रोपनी जमिनमा खड्का ल्याण्ड कम्पनीले लैनचौर ब्याङ्क्वेट सञ्चालन गर्दै आएको थियो। त्यहाँ अर्को रेस्टुरेन्ट पनि छ।
स्काउटकै दुईवटा ब्यावसायिक भवनहरूसमेत खड्काको त्यही कम्पनीले भाडामा लगाउँदै आएको थियो। दुई भवनमा ४८ वटा सटरहरू छन्।
तर कम्पनीले अहिलेसम्म स्काउटलाई भाडा रकम तिरेको थिएन। केही दिनअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो। म्याद सकिँदा पनि बक्यौता नतिरेपछि महानगरले ती संरचनाहरू भत्काउन सुरु गरेको हो।