देउखुरी, २ जेठ : कोरोना सङ्क्रमणका कारण आज दाङमा एकैदिन सातकोे मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अक्सिजनको अभावका कारण तीन जनाको उपचारका क्रममा, तीनको होमआइसोलेशनमा र एकको बाटोमै मृत्यु भएको कोभिड फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
लमही–६ का ५९ वर्षीय पुरुष, घोराही–९ का ३० वर्षीय पुरुष र घोराही–९ का ६९ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ । त्यस्तै तुलसीपुर–१६ का ७८ वर्षीय पुरुषको मेट्रो अस्पताल तुलसीपुरमा, घोराही–१४ का ७४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी र घोराही–१८ का ७० वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको चन्दले जानकारी दिए ।
घोराही–१४ का ६४ वर्षीय पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दाङमा कोरोना सङ्क्रमण दर बढ्दै गएको र हालसम्म २ हजार ९८० सक्रिय सङ्क्रमित रहेको र ५ हजार ८५१ जना सङ्क्रमण मुक्त भएको चन्दले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म १४७ जनाको मृत्यु भएको छ ।