बंगलादेशमा हादीको अन्त्येष्टि, हत्यारा समात्न २४ घण्टाको ‘अल्टिमेटम’

राम्रो अनलाइन     ०६ पुस २०८२, आइतबार
बंगलादेशमा हादीको अन्त्येष्टि, हत्यारा समात्न २४ घण्टाको ‘अल्टिमेटम’

काठमाडौं– बंगलादेशमा गोली हानी हत्या गरिएका इन्कलाब मञ्चका नेता शरीफ उस्मान हादीको अन्तिम संस्कार गरिएको छ । शनिबार अन्तिम संस्कारका क्रममा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुससहित विभिन्न राजनीतिक दलका नेता र हादी समर्थकको ठूलो भीड जम्मा भएको थियो ।

हादीको शव शुक्रबार साँझ सिंगापुरबाट ढाका ल्याइएको थियो । गएको बिहीबार उनको मृत्यु भएपछि बंगलादेश र भारतबीचको सम्बन्धमा तनाव बढेको छ । हादीमाथि गोली हानेका व्यक्ति भारत पुगेका जनाइएको छ ।

हादीमाथि आक्रमणको एक दिनपछि नै बंगलादेशको निर्वाचन आयोगले मतदान तालिका घोषणा गरेको थियो । बंगलादेशमा आउँदो फेब्रुअरी १२ मा आमनिर्वाचन हुँदै छ । यही डिसेम्बर १२ मा ढाकामा हादीमाथि अज्ञात बन्दुकधारीले गोली हानेका थिए । र, उनी गम्भीर घाइते भएका थिए । हादीको मृत्युपछि भड्किएको हिंसाका क्रममा भारतीय उच्चायोगलाई पनि निसाना बनाइएको थियो ।

२४ घण्टे ‘अल्टिमेटम’
इन्कलाब मञ्चले उस्मान हादीका हत्यारा पक्राउ गर्न सरकारलाई २४ घण्टाको ‘अल्टिमेटम’ दिएको छ । बीबीसी बंगालीका अनुसार, हादीको अन्तिम संस्कारका क्रममा आयोजित सभामा मञ्चका सचिव अब्दुल्लाह अल जाबेरले ‘हत्यारा समात्न सरकारले के गरिरहेको छ?’ भनेर प्रश्न गरेका थिए ।

उनले यो मुद्दा अघि नबढाइए गृह मामिलाका सल्लाहकार मोहम्मद जब्बार आलम चौधरी र मुख्य सल्लाहकारका विशेष सहायक खुदा बख्स चौधरीले २४ घण्टाभित्र राजीनामा दिनुपर्ने बताएका छन् । हादीका भाइ अबू बक्र सिद्दिकीले ‘राजधानीमा दिउँसो गोली हानिएपछि हत्यारा कसरी फरार हुन सके?’ भन्ने प्रश्न गरेका थिए । उनले सात–आठ दिन बितिसक्दा समेत ‘हत्यारा पक्राउ गर्न किन सम्भव भएन?’ भन्दै छिटो मुद्दा चलाउन आग्रह गरेका थिए ।

उनले भने, ‘शरीफ उस्मान हादी मेरा भाइहरूमध्ये सबैभन्दा कान्छा थिए । र, आज हामीले उनको शव बोक्नुपरेको छ ।’ अन्तरिम सरकार प्रमुख युनुस, सल्लाहकार परिषद्का सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्तासहित ठूलो संख्यामा मानिस शनिबार दिउँसो आयोजित अन्तिम संस्कारमा सहभागी भएका थिए । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र नेसनल सिटिजन्स पार्टी (एनसीपी)का नेता पनि अन्तिम संस्कारमा सहभागी थिए । यद्यपि, इन्कलाब मञ्चको मागबारे युनुसले कुनै प्रतिक्रिया दिएनन् ।

अन्तिम संस्कारको प्रार्थनाअघि युनुसले हादीका समर्थकलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले हादी बंगलादेशीको हृदयमा सधैँ जीवित रहने बताए । बंगलादेशको अखबार डेली ट्रिब्युनका अनुसार, मोहम्मद युनुसले भने, ‘हादी, तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौँ । कसैले तपाईंलाई बिर्सन सक्दैन । पुस्तौँसम्म तपाईं हामीसँग रहनुहुनेछ । आज हामी यहाँ यो वाचा गर्न आएका छौँ कि तपाईं जेका लागि उभिनुभयो, त्यसलाई हामी पूरा गर्नेछौँ । केवल हामी मात्र होइन, बंगलादेशका जनताले यो जिम्मेवारी लिनेछन् ।’

हादी निर्वाचनमा भाग लिन इच्छुक रहेको र राजनीतिक सहभागिताका निम्ति उनले एक दृष्टिकोण प्रस्तुत गरेका पनि युनुसले बताए । ‘उनले हामीलाई एक प्रक्रिया देखाए । आउनुहोस्, हामी सबै मिलेर त्यो प्रक्रिया अपनाऔँ,’ युनुसले भने । हादी आउँदो आमनिर्वाचनमा ढाका–८ बाट सम्भावित उमेदवार थिए । निर्वाचनका निम्ति जनसम्पर्क गरिरहेका बेला अज्ञात आक्रमणकारीले उनीमाथि गोली हानेका थिए । गम्भीर अवस्थामा उनलाई ढाका मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यसको तीन दिनपछि थप उपचारका निम्ति उनलाई सिंगापुर लगिएको थियो ।

प्रतिक्रिया