निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता एक विमर्श अन्तरक्रिया सम्पन्न

राम्रो अनलाइन     १० पुस २०८२, बिहिबार
निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता एक विमर्श अन्तरक्रिया सम्पन्न

काठमाडौँ–पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबिनै स्वतन्त्र र निष्पक्ष रूपमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । सेन्टर फर पोलिसी रिसर्चले आज आयोजना गरेको ‘निर्वाचनमा चौथो अङ्ग : अनुसन्धानात्मक पत्रकारिता’ विषयक विमर्श तथा अन्तरक्रियामा उनले पत्रकारले स्वतन्त्र रूपमा कलम चलाए निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय हुने बताए। 

पूर्व प्रमुखआयुक्त थपलियाले निर्वाचन गराउने निकायबारे समाचार सम्प्रेषण गर्दा स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन संविधानबमोजिम हुनुपर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमले निर्वाचन प्रक्रियामा हुने कमजोरी, अनियमितता तथा सम्भावित जोखिमबारे तथ्यमा आधारित अनुसन्धानात्मक सामग्री प्रकाशन गर्न सके लोकतन्त्र थप मजबुत हुने धारणा राखे।

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले निर्वाचनका समयमा पत्रकारले भोग्नुपर्ने व्यावसायिक चुनौती, समस्या तथा आचारसंहिताका विषयमा चर्चा गरेका थिए।  उनले निर्वाचनमा पत्रकारले समाचार सङ्कलन तथा प्रकाशन गर्दा आचारसंहिता, कानुनी सीमा र सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

सेन्टर फर पोलिसी रिसर्चका अध्यक्ष सीताराम भट्टराईले अन्तरक्रियाले निर्वाचन प्रक्रियामा पत्रकारिताको चौथो अङ्गको भूमिकालाई थप स्पष्ट पार्नुका साथै पत्रकारहरूलाई जिम्मेवार, तथ्यपरक र अनुसन्धानमुखी पत्रकारिता गर्न प्रेरित गरेको बताए।

प्रतिक्रिया