भाषा पास गरेर पनि कोरिया जान नपाएपछि ईपीएस शाखामा प्रदर्शन

राम्रो अनलाइन     १७ पुस २०८२, बिहिबार
भाषा पास गरेर पनि कोरिया जान नपाएपछि ईपीएस शाखामा प्रदर्शन

काठमाडौं–  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।
 
दुई वर्षअघि रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्दै प्रदर्शन गरेका हुन् । 

दुई महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत पक्षबीच सहमति भए पनि दुई महिना बित्दासमेत सरकारले आवश्यक प्रक्रिया अगाडि नबढाएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् । 

भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको कारण आन्दोलनमा उत्रिएको भाषा परीक्षा पास गरेका नुवाकोटाका युवा राजन ढुंगानाले बताए । 

उनले कोरियाको मागभन्दा बढी जनाको आवेदन खुलाएको कारण मिहिनेती युवाले अवसर नपाएको गुनासो गरे । उनले राज्यले रोजगारीका लागि कोरिया पठाउने प्रक्रिया अगाडि नबढाएर आफूहरूलाई दोधारे समस्यामा पारेको पनि बताए । 

सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकामा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएका कारण कोरिया जान पाएका छैनन् ।

प्रतिक्रिया