रोल्पा – रोल्पामा जीप दुर्घटनामा हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विक रहेका छन्।
सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जीप गए राति १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनाबाट गम्भीर घाइतेमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरी का १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक रहेका छन्।