काठमाडौं– नेपालकै चर्चित झाँक्री तथा भविष्यवक्ता गुरु केदार बराल पछिल्लो समय गगन थापाको राजनीतिक भविष्यसम्बन्धी भविष्यवाणीका कारण चर्चाको शिखरमा पुगेका छन्। वर्षौँअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका उनका भनाइहरू आजको राजनीतिक घटनाक्रमसँग मेल खान थालेपछि उनको चर्चा झन् चुलिएको हो।
गुरु केदार बरालले गगन थापाको बाल्यकालदेखि नै उनको राजनीतिक यात्राबारे संकेत गर्दै आएका थिए। उनले पटक–पटक गगन थापा नेपाली कांग्रेसभित्र निर्णायक भूमिकामा पुग्ने, नेतृत्व सम्हाल्ने र अन्ततः देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गर्दै आएका छन्। विशेषगरी कांग्रेस पार्टीको सभापति बन्ने योग गगन थापाको भाग्यरेखामा स्पष्ट देखिने कुरा गुरु बरालले धेरै पहिल्यैदेखि उल्लेख गर्दै आएका थिए।
चार दिनअघि मात्रै गरिएको पछिल्लो भविष्यवाणीमा पनि गुरु केदार बरालले गगन थापाको नेतृत्व उदय समयसापेक्ष रूपमा परिपक्व हुँदै गएको बताएका थिए। उनका अनुसार गगन थापाको प्रधानमन्त्री बन्ने सम्भावना २०८३ सालमा होइन, २०८५ सालको आसपास बलियो रूपमा देखिन्छ। यो निष्कर्ष भावनात्मक समर्थनका आधारमा नभई ज्योतिषीय गणना, ग्रहयोग र समयचक्रको विश्लेषणबाट आएको उनको भनाइ छ।
गुरु केदार बरालका फेसबुक स्टाटसहरू अहिले समर्थकहरूका लागि मात्र होइन, राजनीतिक वृत्तमा पनि चासोका विषय बनेका छन्। उनका अघिल्ला भविष्यवाणीहरू क्रमशः मिल्दै जानु संयोग मात्र कि समयको संकेत भन्ने बहससमेत सुरु भएको छ। जे होस्, गगन थापाको राजनीतिक भविष्यबारे गुरु केदार बरालले गरेका भविष्यवाणीहरू अहिले सार्वजनिक चर्चाको केन्द्रमा छन्।