‘निर्वाचनका लागि आचारसंहिता पालना आवश्यक छ’ : आयुक्त डा. जानकी कुमारी तुलाधर

राम्रो अनलाइन     ०१ फागुन २०८२, शुक्रबार
‘निर्वाचनका लागि आचारसंहिता पालना आवश्यक छ’ : आयुक्त डा. जानकी कुमारी तुलाधर

दाङ–निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मर्यादित र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनको साथ पालना आवश्यक रहेको बताएकी छिन्।

शुक्रबार दाङको भालुबाङमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजद्वारा संयुक्त रूपमा आयोजित “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले मात्र स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न हुनेभएकाले त्यसको लागि आचारसंहिताको अक्षरशः पालना अनिवार्य भएको बताइन्।

लोकतन्त्रलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने आधार नै निर्वाचन आचारसंहिता भएको निर्वाचन आयुक्त डा. तुलाधरले बताइन्। निर्वाचन केवल मतदानको प्रक्रिया मात्र नभई लोकतन्त्रको आत्मा भएको बताउँदै निर्वाचन आचारसंहिता २०८२ को मूल उद्देश्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आवश्यक रहेको बताइन्।

“मतदाताको स्वतन्त्र निर्णयको अधिकार संरक्षण गर्नु र निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्नु हो, उनले भनिन्, “आचारसंहिता सबैका लागि समान हुने भएकाले राजनीतिक दल, उम्मेदवार, सरकार, कर्मचारी, सञ्चारमाध्यम र सरोकारवाला सबै यसको पालक हुनुहुन्छ ।” उनले राज्य स्रोतको दुरुपयोग रोक्नु, समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने बताइन्।

लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड निर्वाचन भएकाले यसलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। आचारसंहिता केवल नैतिक बन्धनको दस्तावेज नभई लोकतान्त्रिक मर्यादा, राजनीतिक नैतिकता र सुशासनप्रतिको साझा प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको जोड छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता २०८२ माघ ४ गते राति १२ बजेदेखि लागू भइसकेको जानकारी दिइन्।

कार्यक्रममा सरकारी स्रोत–साधनको दुरुपयोग रोक्ने, मर्यादित प्रचार–प्रसार सुनिश्चित गर्ने, घृणात्मक अभिव्यक्ति नियन्त्रण गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सम्मान र संरक्षण गर्ने विषयलाई विशेष महत्व दिइएको थियो । डिजिटल युगमा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग निर्वाचनको विश्वसनीयताका लागि चुनौती बन्दै गएको भन्दै भ्रामक सूचना, हेट स्पिच, झुटा समाचार र अवैध मत सर्वेक्षणले मतदाताको निर्णय प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भन्दै सबै सरोकारवालाबाट उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ छ ।

निर्वाचन खर्चमा पारदर्शिता अर्को महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उहाँले बैंकमार्फत खर्च व्यवस्थापन, खर्च विवरण सार्वजनिक गर्ने र स्रोत नखुलेको आर्थिक सहयोग रोक्ने व्यवस्था प्रभावकारी रूपमा लागू हुनुपर्ने बताइन्। राजनीतिक दल र उम्मेदवारले मर्यादित प्रचारप्रसार गर्ने, खर्च सीमा पालना गर्ने र भ्रामक वा उत्तेजक अभिव्यक्ति प्रयोग नगर्ने विषयमा ध्यान दिनुपर्ने सुझाव आएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले सूक्ष्म ढंगले अनुगमन गर्नुपर्ने र आचारसंहिता विपरीत गतिविधि रोक्न कठोर बन्नुपर्ने बताए। कार्यक्रममा मन्त्री ढकालले दलहरू चुनावी दौडमा रहेकाले आयोगले तोकेको समयअगाडि भइरहेका गतिविधि आचारसंहिताले छुन्छ कि छुँदैन भन्ने विषयमा सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए।

यस्तै, कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले निर्वाचनलाई सफल बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य भएको बताउनुभयो । नागरिक संवाद केन्द्रकी प्रमुख हेमा न्यौपानेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना, निर्वाचन आयोगका सहसचिव ज्ञानहरी घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले गरेका थिए। कार्यक्रममा सहभागी राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सरोकारवाला पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता गरे।

प्रतिक्रिया