दशौँ निर्वाचन दिवस मनाइँदै

राम्रो अनलाइन     ०६ फागुन २०८२, बुधबार
दशौँ निर्वाचन दिवस मनाइँदै

काठमाडौँ–नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बिहीबार दसौँ निर्वाचन दिवस मनाइँदैछ ।
 
मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि विसं २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा गराउँदै आएको छ ।
 
आयोग यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ ।
 
आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ ।
 
उक्त निर्वाचनमार्फत् जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ ।
 
इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानुन बमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ ।
 
यसवर्ष आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित हुन परेकाले बिहीबार कान्तिपथस्थित परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

प्रतिक्रिया