कम्बोडियामा बिनाभिसा बसिरहेका २० नेपालीको उद्धार

राम्रो अनलाइन     ०५ चैत २०८२, बिहिबार
कम्बोडियामा बिनाभिसा बसिरहेका २० नेपालीको उद्धार

काठमाडौं – थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघको सहजीकरणमा उनीहरूलाई नेपाल फकाईएको हो ।

उनीहरूलाई चैत ४ गते कम्बोडियाबाट शुक्रबार (चैत ५) काठमाडौंस्थित त्रिभुवन अन्तरष्ट्रिय विमानस्थल पुग्ने गरी पठाइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी उनीहरू कम्बोडिया पुगेका थिए । उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन ‘स्क्यामिङ’ केन्द्र, क्यासिनोहरूमा ठगी तथा अरू गैरकानुनी काममा लगाइएको दूतावासले जनाएको छ ।

‘यसैगरी, अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ,’ बैंककस्थित नेपाली दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिषा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । 

कम्बोडियामा अवैध रूपमा रहेका नेपालीलाई आवश्यक सहयोग चाहिएमा टेलिफोन नम्बरहरूः ८५५ १२ २१५ ५७८, ८५५ ९३ २०३ ६६६ र ८५५ ९६ ३४६ ५७८८ सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

‘स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैजनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ,’ दूतावासले भनेको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकानुसार, सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए । यो संख्या २०२२ मा एक हजार ९७७, २०२३ मा दुई हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा नौ हजार ६७६ छ ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन आग्रह गरेको छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायत मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले भनेको छ ।

प्रतिक्रिया