‘भिजिट भिसा’मा कम्बोडिया जाने ह्वात्तै बढे, तीन सातामा १३१ नेपालीको उद्धार

राम्रो अनलाइन     १८ चैत २०८२, बुधबार
‘भिजिट भिसा’मा कम्बोडिया जाने ह्वात्तै बढे, तीन सातामा १३१ नेपालीको उद्धार

काठमाडौं – थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले बिनाभिसा बसिरहेका आठ नेपालीलाई कम्बोडियाबाट उद्धार गरी स्वदेश फर्काएको छ ।

दूतावासले उनीहरूलाई बुधबार (चैत १८) नेपाल फर्काएको हो । योसँगै पछिल्लो तीन सातामा बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट उद्धार गरी स्वदेश फर्काएका नेपालीको संख्या १३१ पुगेको छ । 

नेपाली दूतावासका अनुसार, उद्धार गरिएकाहरू अधिकांश बिनाभिसा कम्बोडियामा रहेका थिए । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट उनीहरू कम्बोडिया पुगेको दूतावासले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएको दूतावासले बताएको छ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाको सरकारको सहयोग र गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बिनाभिसा बसिरहेकाहरूलाई उद्धार गरी नेपाल पठाएको हो । 

अझै पनि ठूलो संख्यामा नेपाली बिनाभिसा कम्बोडियामा रहेको र उद्धारको प्रयास भइरहेको दूतावासले जनाएको छ । ‘यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ,’ बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनएिको छ । 

दूतावासका अनुसार, २०८२ फागुन २७ गते ३, फागुन २८ गते १६, फागुन २९ गते २१, चैत ५ गते २०, चैत ११ गते ५१, चैत १७ गते १२ र चैत १८ गते ८ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ । 

‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ बैंककस्थित नेपाली दूतावासले भनेको छ । 

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएका नेपालीको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो समेत आएको दूतावासले जनाएको छ । 

‘त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्दार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

एजेन्टहरूले विभिन्न प्रलोभनमा पारी नेपालीलाई भिजिट भिसामा कम्बोडियामा पुर्‍याई अलपत्र पार्ने गरेका छन् । यसैकारण पछिल्ला वर्षहरूमा भिजिट भिसामा कम्बोडिया जाने नेपालीको संख्या पनि ह्वात्तै बढेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार सन् २०२१ मा मात्र १०१ नेपाली भिजिट भिसामा कम्बोडिया पुगेका थिए । सन् २०२२ मा यो संख्या एक हजार ९७७ पुगेको थियो । 

सन् २०२३ मा २ हजार ९४० नेपाली भिजिट भिसामा कम्बोडिया पुगेको देखन्छ । यसैगरी सन् २०२४ मा ६ हजार ४०४ नेपाली कम्बोडिया गएका थिए । सन् २०२५ मा ९ हजार ६७६ नेपाली कम्बोडिया गएको देखिन्छ । 

भिजिट भिसामा कम्बोडिया पुगेका ठूलो संख्यामा नेपाली अलपत्र परेपछि बैंककस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेका छ । 

दूतावासले कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नजान पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया