विदेश पठाइदिन्छु भन्दै २२ लाख ठगी गर्ने दुईजना पक्राउ

राम्रो अनलाइन     २४ चैत २०८२, मङ्गलबार
विदेश पठाइदिन्छु भन्दै २२ लाख ठगी गर्ने दुईजना पक्राउ फाइल तस्विर

काठमाडौं – वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब २२ लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर गोदावारी नगरपालिका–१२ का २५ वर्षीय आयुष कार्की र काठमाडौं महानगरपालिका–३१ बस्ने डोटी घर भएका २७ वर्षीय किरण ताम्राकार रहेका छन् । 

पक्राउमध्ये आयुषले सर्बिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १८ लाख ९० हजार रुपैयाँ र किरणले जर्जिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट तीन लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ । 

उनीहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आयुषलाई ललितपुर गोदावरी नगरपालिका–१२ बाट र किरणलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

प्रतिक्रिया