निर्माण व्यवसायीले मागे गृहमन्त्री गुरुङसँग आयोजनाको सुरक्षा

राम्रो अनलाइन     २९ चैत २०८२, आइतबार
निर्माण व्यवसायीले मागे गृहमन्त्री गुरुङसँग आयोजनाको सुरक्षा

काठमाडौं– निर्माण व्यवसायीले सुरक्षा माग गरेका छन् । निर्माणाधीन नागढुंगा–मुग्लिन सडकको अनुगमनमा पुगेका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीले सुरक्षा माग गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले गृहमन्त्रीसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् । ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै उनले सुरक्षा माग गरे । 

आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारबाही गर्न उनको माग छ । निर्माणाधीन नागढुंगा–मुग्लिन सडकमा काम गरिरहेका खड्काले निर्माण सम्पन्न भएर हस्तान्तरण भएको पाँच वर्षसम्म मर्मतको जिम्मेवारी  निर्माण कम्पनीको रहने बताए । 

‘कुनै पनि नेपालका हाइवे बन्दा कसैले डिस्टर्ब गर्छ भने त्यसलाई सार्वजनिक मुद्दा लगाउनुपर्छ । तुरुन्त २४ घण्टाभित्र कारबाही हुनुपर्छ । त्यस्तो खाले कानुन बनाउनुपर्छ । सडक निर्माणको गुणस्तरको हामी ग्यारेन्टी लिन्छौँ,’ उपाध्यक्ष खड्काले भने ।

सडक निर्माणमा गुणस्तरीयता कायम गर्न फास्ट ट्रयाकबाट निर्माण सामग्री ल्याएर काम गर्नुपरेको बताए ।

सरकारले छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामाग्री उत्खनन गर्न नपाउँदा आयोजनाले लक्ष्यअनुसारको काम गर्न नसकेको पनि खड्काले जानकारी गराए । आयोजनालाई आवश्यक निर्माण सामग्री उत्खनन गर्न आफैँले किनेको जग्गामा समेत मुद्दा लड्नु परेको दुखेसो सुनाए ।

निर्माण आयोजनालाई आवश्यक नदीजन्य निर्माण सामग्री सरकारले अनुमति दिएको स्थानबाट उपलब्ध गराउन माग गरे । उनले आयोजना क्षेत्रमा रहेका नदीजन्य निर्माण सामग्रीको प्रशोधन केन्द्र क्रसर चल्ने वातावरण बनाउनसमेत माग गरे । सडक निर्माणको सिजन दुई महिना बाँकी रहेकाले सरकारले बिटुमिन र पेट्रोलिय पदार्थको सहज उपलब्धता गराए कामले गति लिने जानकारी दिए । 

मन्त्री गुरुङले निर्माण आयोजनामा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताए । उनले एकजनाले निर्माण आयोजनामा आएर धम्काएको भरमा काम रोक्ने अवस्थाको अन्त्य गर्ने आश्वासनसमेत दिए । अन्तरमन्त्रालय समन्वयले रोकिएका ठाउँमा समेत समन्वय गरेर काम अघि बढाउने मन्त्री गुरुङको भनाइ छ ।

शान्ति–सुरक्षाबिना विकासले गति लिन नसक्ने भन्दै त्यस्ता कार्य दोहोरिए सीडीओ र एसपीलाई कारबाही गर्ने चेतावनीसमेत दिए । 

प्रतिक्रिया