पछिल्लो २४ घण्टामा थपिए ६, ०८५ जना संक्रमित, मृत्यु हुनेको संख्या २५ दिनयताकै कम

राम्रो अनलाइन     १८ जेठ २०७८, मङ्गलबार
पछिल्लो २४ घण्टामा थपिए ६, ०८५ जना संक्रमित, मृत्यु हुनेको संख्या २५ दिनयताकै कम

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो ।

त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो ।

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

प्रतिक्रिया