होला त कोरोना खोप सबैलाई निशुःल्क ? 

राम्रो अनलाइन     २८ पुस २०७७, मङ्गलबार
होला त कोरोना खोप सबैलाई निशुःल्क ? 

काठमाडौं, २८ पुस : विश्वका कतिपय देशले कोरोना विरुद्धको खोप लगाउन थालिसक्दा पनि नेपालमा भने खोप कसरी र कहिले आउँछ भन्नेमा अझै अन्योल छ । तर, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सबैलाई कोरोना विरुद्धको खोप निशुःल्क दिइने दाबी गरेका छन् । 

हालसम्म सरकारले खोपको प्रि–बुकिङ गरेको छैन । तर उनले आमजनतालाई खोप आउनेमा ढुक्क रहन आग्रहसमेत गरे । ‘त्यो पनि समयमै र पारदर्शी ढंगबाट ल्याइएको खोप सरकारले सबैलाई निःशुल्क रूपले लगाउन अभियान चलाउनेछ र खोपको वितरणसमेत न्यायपूर्ण ढंगबाट हुनेछ,’ मन्त्री त्रिपाठीले भने । उनले विभिन्न मुलुकसँग निकटतम् सम्बन्ध राखेर खोप ल्याइने र त्यसक्रममा रुस र भारतका राजदूतसँग कुराकानी भएको जानकारी दिए । 

निजी क्षेत्रलाई खोप खरिदको प्रक्रियाबाट टाढा नराख्ने जनाउँदै त्रिपाठीले पहिले सरकार–सरकार ९जीटूजी० तहबाट खोप खरिद प्रक्रियालाई अघि बढाउने उनको भनाइ थियो । ‘निजी क्षेत्रलाई पनि यो खरिद प्रक्रियाबाट टाढा राख्न चाहँदैनौं,’ उनले

भने, ‘बाहिर जति चर्चा भइरहेको छ, विशेषगरी के हो भने सरकारले आफू पनि नल्याउने र निजीलाई पनि ल्याउन नदिने कठोरतामा लागेको छ कि क्या हो भनेर, त्यो होइन । सरकार प्राथमिकताका साथ पारदर्शी ढंगले पहिले सरकार–सरकारबीच खरिद प्रक्रियालाई नै अगाडि बढाउँछ ।’ उनले कोभाक्स सुविधाबाट समेत मुलुकको कुल जनसंख्याको २० प्रतिशतका लागि कोभिडविरुद्घ खोप पाउने सुनिश्चितता प्राप्त गरिसकेको जनाए ।

खोप उपलब्धतासँगै सबैभन्दा पहिले मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेका, त्यसपछि ५५ वर्षमाथिका र दीर्घरोगीलाई खोप दिइनेसमेत उनको भनाइ थियो । मुलुकमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्न १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई उपयोग गरिने उनले बताए । १६ हजार केन्द्र राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकको सरकारी संरचनाअन्तर्गत २ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियस तापक्रममा एक करोड ७० लाख मात्रा खोप भण्डारण गर्ने क्षमता छ । यस्तै शून्यभन्दा तल अर्थात् माइनस २० डिग्री सेल्सियस तापक्रममा ९ लाख ११ हजार जनालाई पुग्ने खोप राख्ने क्षमता छ । विज्ञहरूका अनुसार नेपाललाई करिब २ करोड १० लाख जनालाई पुग्ने कोभिडविरुद्घको खोप आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म मुलुकमा १९,८७,५५५ जनाको पीसीआर परीक्षण गर्दा २,६५,२६८ जनामा कोभिड पोजिटिभ देखिएको छ भने यसमध्ये १,९२७ जनाको मृत्यु भइसकेको छ । हाल कोभिड पोजिटिभमध्ये मृत्युदर ०।७ प्रतिशत देखिएको छ । मुलुकमा सोमबार मात्र कोभिडले १० जनाको मृत्यु भएको छ भने ५,३०९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोभिड देखिएको हो । हाल मुलुकमा कोभिड निको हुने दर ९७।६ प्रतिशत देखिएको छ । देशभरिमा सोमबार कोभिडका कारण १ सय ६३ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा गरी २ सय जना सघन उपचारमा छन् ।

प्रतिक्रिया