पैदल हिँड्नुका लाभ

राम्रो अनलाइन     २७ जेठ २०७८, बिहिबार
पैदल हिँड्नुका लाभ

जोर्नी दुख्ने, मुटुसम्बन्धी समस्या, तनाव, अवसाद र मोटोपनलगायत  समस्याबाट पीडित भएकाहरूले हिँड्ने प्रयास गर्नुपर्छ । हिँडाइले स्वास्थ्यसम्बन्धी धेरै किसिमका समस्याको जोखिम कम गर्न मद्दत गर्छ । 


हिँड्ने सही तरिका 

कतिपय मानिस छिटो–छिटो हिँड्नु फाइदाजनक रहेको बताउँछन् । यस विपरीत कतिपयका अनुसार बिस्तारै हिँड्नुले स्वास्थ्यलाई लाभ पु¥याउँछ । छिटो–छिटो हिँड्ने अथवा बिस्तारै हिँड्ने कुरा मान्छेमा भर पर्छ । स्वास्थ्य स्थितिअनुसार हिँडाइ तय गर्न सकिन्छ । छिटो अथवा बिस्तारै जसरी हिँडे पनि स्वास्थ्यलाई लाभ नै हुन्छ । तर, राति खाना खाइसकेपछि हिँड्दै हुनुहुन्छ भने बिस्तारै हिँड्दा नै बेस हुन्छ । रात्रि भोजनपछिको हिँडाइले मीठो निद्रा लाग्छ ।

हिँडाइले राख्छ हृदय स्वस्थ

हिँडाइले मानिसको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । हृदय रोगसम्बन्धी जोखिमलाई कम गर्न पैदल हिँडाइ उत्तम व्यायाम हो । एक हप्तामा चार घण्टा हिँड्दा स्ट्रोक, हर्ट अट्याकलगायत हृदयसम्बन्धी रोगको जोखिम कम हुन्छ । 

हिँड्दा वजन कम हुन्छ

हिँड्नु एउटा राम्रो व्यायाम हो । जसले मानिसको वजन घटाउन मद्दत गर्छ । नियमित चार किलोमिटर हिँड्दा शरीरबाट ७० देखि ७५ क्यालोरी घट्छ । दिनहुँ कम्तीमा दुई किलोमिटर हिँड्दा राम्रो हुन्छ । त्यसैले घरनजिक वरिपरिसम्म जान कार, बाइक, स्कुटरको साटो हिँड्नु नै बेस हुन्छ । 

हिँडाइबाट रक्तचाप नियन्त्रण
पैदल हिँड्दा उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ । उच्च रक्तचापलाई नियन्त्रण गर्न हरेक दिन ६० मिनेट हिँड्नुपर्छ ।

क्यान्सरको जोखिम कम 

हरेक वर्ष क्यान्सरबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । त्यसको मुख्य कारण गतिहीन जीवनशैली हो । हिँड्दा वजन घट्छ जसले गर्दा क्यान्सरको जोखिम कम हुन्छ । पैदल हिँड्दा स्तन क्यान्सरको जोखिम पनि कम हुन्छ ।

मधुमेह रोगीलाई लाभ 

आजभोलि धेरै मानिसमा देखिने समस्या हो, मधुमेह रोग । चिकित्सकहरूका अनुसार टाइप टू मधुमेह रोगीले हरेक दिन तीनदेखि सात हजार कदम हिँड्नुपर्छ । प्रतिदिनको हिँडाइले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ ।

हिँड्दा तनाव कम हुन्छ
पैदल हिँड्दा रक्त सञ्चारमा सुधार त आउँछ नै यसले तनाव कम गर्न पनि मद्दत गर्छ । हिँडाइले तनाव निर्माण गर्ने हार्मोनको उत्पादनमा कमी ल्याउँछ । हिँड्ने क्रममा हुने श्वास–प्रश्वासले पनि तनाव कम हुन्छ ।

पाचन प्रक्रियामा लाभ 
हिँडाइले पाचन प्रक्रियामा सुधार ल्याउँछ । कब्जियतलगायत समस्या हुनेहरूका लागि हिँड्नु औषधि जस्तै हो । हिँडाइले पाचन प्रक्रियालाई स्वस्थ राख्छ । सन्तुलित आहार, प्रशस्त पानीसँगै स्वस्थ शरीरका लागि हिँड्नु पनि आवश्यक छ । भोजनपछि केही बेर हिँड्नुलाई राम्रो मानिन्छ । 
 

प्रतिक्रिया