लगातार पानी पर्ने याम सुरु भएको छ। यस्तोमा रुघाखोकी, ज्वरो, फंगल इन्फेक्सन, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ। त्यस्ता रोगबाट बच्न केही उपाय अपनाउन सकिन्छ।
- सकेसम्म घरको खाना खानुपर्छ।
- उमालेको पानी खाने गर्नुपर्छ। जथाभावी पानी खानाले पानीबाट सर्ने रोग लाग्न सक्छ।
- झरी सकिएपछि पानी ठाउँठाउँमा जमेको हुन्छ। त्यस्ता खाल्डाखुल्डीमा अनेकखालका कीटाणु हुर्किने र बढ्ने गर्छन्। हिँड्दा यस्ता दहमा पाइने कीटाणु शरीरमा सर्ने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ।
- नुहाउँदा एन्टी ब्याक्टेरियल साबुन प्रयोग गर्नु लाभदायक हुन्छ।
- घरबाहिर निस्किँदा छाता अथवा रेनकोट कहिल्यै छुटाउनु हुँदैन। नत्र पानीले भिजेर ज्वरो आउन सक्छ, रुघाखोकी लाग्न सक्छ।
- बाहिरबाट आएपछि अथवा केही काम गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै, खाना खाइसकेपछि र खानुअघि पनि अनिवार्यतः साबुनपानीले हात धुने गर्नुपर्छ।
- ठाउँ–ठाउँमा जम्ने पानीका कारण लामखुट्टे आउने भएकाले मलेरिया, डेंगुजस्ता रोग झरीको समयमा लाग्ने सम्भावना बढी हुन्छ। त्यही भएर लामखुट्टे लाग्ने ठाउँमा बस्नेले झुल टाँग्नुपर्छ अथवा लामखुट्टे भगाउने लिक्विड आदि प्रयोग गर्न सकिन्छ।
- वर्षायाममा रुघाखोकी लाग्ने, ज्वरो आउने आदि जोखिम बढी हुने भएकाले यस्तो बेला शरीरको रोगप्रतिरोधी क्षमता बढाउन साग, फलफूल र सलाद सकेसम्म बढी खानुपर्छ।
- काखी, खुट्टा, औँलाको काप आदिमा हावा सञ्चार नहुने अथवा कम हुने भएकाले यी ठाउँलाई सुक्खा राखिएन भने फंगल इन्फेक्सन, दाद आदि हुने जोखिम रहन्छ। त्यही भएर भिजेर आएपछि अथवा नुहाएपछि शरीरलाई राम्रोसँग पुछ्ने गर्नुपर्छ। साथै, काखी, काछको सरसफाइमा अतिरिक्त ध्यान दिने, पेन्टी र रुमाल दिनहुँ धोएर मात्र प्रयोग गर्ने गर्नुपर्छ।