नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि यसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ । सातै प्रदेशबाट एकैपटक अभियान सुरु हुने बताइएको छ ।
अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्रर गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे अभियानको उद्घाटन गर्नेछन् ।
‘बालुवाटारमा मन्त्री,सचिव लगायत केही उच्च पदस्थ पदाधिकारीहरुको सहभागितामा प्रधानमन्त्रीले भर्चुअल मार्फत एक बटम थिचेर अभियाको शुभारम्भ गर्नुहुने कार्यक्रम तय भएको छ', प्रवक्ता गौतमले भने, 'बालुवाटारमा खोप लगाएर अभियानको थालनी गर्न लागेको होइन । ’
खोप सातै प्रदेशका ६२ अस्पतालका १२० केन्द्रबाट प्रदान गरिने बताइएको छ ।
नेपालमा अक्स्फोर्ड र एस्ट्राजेनेकाले विकास गरेको र भारतीय औषधी उत्पादक कम्पनी सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप लगाउन लागिएको हो ।
पहिलो चरणमा अग्रपंत्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खोप प्रदान गरिनेछ ।